जानकी खबर ।असार २१,काठमाडौं ।
निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ ।
दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने आयोगको तयारी रहेको बताइएको छ । जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको थियो । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ । त्यही बेला आयोगले भने निर्वाचन कार्यक्रम तय गरेको हो । जसअनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्न दिइनेछ । आयोग स्रोतका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ । असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने तयारी छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको पहिलो चरणको मध्यावधि निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति तोकेको छ ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार असोज २० र २१ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ । असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको कार्तिक २६ गते मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख छ । त्यस्तै, दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने मिति असोज ३१ गते देखि कार्तिक १ गतेसम्मका लागि तोकिएको छ । कार्तिक १ गते उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिनेछ भने ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ भने मंसिर ३ गते मतदान हुने आयोगले जनाएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो । सोहीअनुसार आयोगले आफ्नो कार्यतालिका सार्वजनिक गरेको छ ।

