जानकी खबर ।असार २१,मलगंवा । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत सर्लाहीको रहेको एक विद्यालयका छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
आईतबार बागमती नगरपालिकामा–५, सोल्टी बजारमा रहेको जनता नमूना माध्यमिक विद्यालयका छात्रालाई साईकल वितरण गरिएको हो । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत विद्यालयको कक्षा ८ मा अध्ययनरत ५१ जना छात्रालाई साइकल वितरण गरिएको हो । प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा बागमती नगरपालिकाकी उपप्रमुख लिला कुमारी मोक्तानको विशिष्ट आतिथ्यतामा छात्राहरुलाई साईकल हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानकुमार महतोले जानकारी दिए । साईकल पाएपछि विद्यालय आउजाउमा सहज हुने भन्दै छात्राहरु खुसी भएका छन् । प्रदेश सरकारले छोरीहरुलाई शिक्षाप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेशभर संचालन गरेको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत
विभिन्न विद्यालयमा कक्षा ८ का छात्राहरुलाई साईकल वितरण गर्नेक्रम जारी छ ।

