
जानकी खबर ।असार १९ , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपाल समूहका लागि नपर्खिने र एमाले अगाडि बढ्ने बताएका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले भने, “अब एमाले अगाडि बढ्छ । जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने, पर्खिनुपर्ने ?”
ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने जिकिर गरे । “सच्चिनका लागि हामीले समय दिएको छौँ । त्यसमा पनि साथीहरू सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन । एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन । किमार्थ राखिँदैन,” उनले भने ।
उनले भने, “मुद्दाको फैसला हुँदा सम्म नेकपा एमाले ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजसको कायम रहन्छ,ती पार्टी कार्यकर्ता होइनन् । मुद्दाको फैसला हुँदासम्म । त्यसले त एउटा कित्ताकाट त गरिसक्यो नि । यसमा कुनै भ्रम पाल्नुहुन्छ र भन्या । झुटका खेतीमा भ्रम पालेर अलमलिन हुन्छ र ?”
प्रधानमन्त्री ओलीले विगतको प्रसङ्ग कोट्याउनुको अर्थ नरहेको भन्दै पार्टीमा रहेर पार्टीको पक्षमा बोल्नेहरू कार्यकर्ता हुने र पार्टीलाई ढाल्ने उद्देश्यमा संलग्न हुनेहरू कार्यकर्ता नहुने भएकाले भ्रममा बस्न आवश्यक नभएको बताए ।

