जनकी खबर । असार १२, जनकपुरधाम ।
जनकपुरधाममा प्रधानमन्त्री केपि ओलिको संसद् विघटन विरुद्धको प्रदर्शनको प्रतिकारमा २ पक्षका युवाहरु बीच तनाव सिर्जना भएको छ ।
प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनलाई प्रतिगामी कदम चालेको भन्दै संयुक्त विद्यार्थी संगठनले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।
ओलीले प्रतिगामी कदम चालेको भन्दै शनिबार विपक्षी ५ दलीय गठबन्धनका भ्रातृ संगठनहरुले संयुक्तरुपमा जनकपुरधाममा प्रदर्शन र नाराबाजी गरेका हुन् ।
जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको जुलुसले प्रदर्शन गरिरहँदा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरुद्ध नाराबाजी गरेका क्रममा नेकपा एमालेको ओलीनिकट राष्ट्रिय युवा धनुषाले विद्यार्थीहरुले गरेको प्रदर्शनको प्रतिकारमा उत्रेका थिए ।
तर ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले राष्ट्रिय युवाका कार्यकर्ताहरुलाई रोकेका थिए ।
युवा संघका कार्यकर्ता अन्य बाटो भएर जनक चोक पुगे र त्यहाँ पनि सुरक्षाकर्मीले उनीहरुलाई घेरा हाले । त्यति बेलासम्म विपक्षी गठबन्धनका युवाहरु शिव चोक पुगिसकेका थिए । उनीहरु प्रहरीको घेरामा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरे ।
प्रदर्शनमा अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधर अनेरास्ववियू धनुषा, नेविसंघ धनुषा र समाजवादी विद्यार्थी संघ धनुषा लगायत विद्यार्थी संगठन सहभागी थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीविरुद्धको प्रदर्शनको प्रतिकार गर्न ठुलो संख्यामा युवा संघका कार्यकर्ता सडकमा उत्रेका थिए ।








