जनकी खबर ।असार १२ गते ।जनकपुरधाम ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराउन आउने संक्रमितको संख्या ह्वात्तै घटेको छ ।
कोरोना संक्रमण घटेपछि धनुषा र सिरहा जिल्लाका अधिकांश अस्पतालहरु खाली भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराउन आउने संक्रमितको संख्या ह्वात्तै घटेको छ । त्यहाँका मेसु डा. प्रमोद यादवले अहिले मात्र १८-२० जना संक्रमित उपचाररत रहेको बताए । उनका अनुसार जनकपुरका नीजि अस्पतालहरुमा अब कोरोना विरामी छैन । उनले अस्पतालमा सम्पूर्ण सेवा सुचारु रहेको बताए । उनले भने, ‘ कोरोनाको डरले विरामीहरु उपचार गराउन पनि आइसकेको थिएन । अब त्यस्तो अवस्था छैन । सबै सेवा पनि सुचारु भइसक्यो । त्यसैले निर्धक्कका साथ उपचार गराउन आउन विरामीहरुसँग अनुरोध छ ।’ विगतको तुलनामा अहिले उपचार गराउन आउने विरामीको संख्या घटेको उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लाका १६ संक्रमित अहिले आइसियूमा र १९ जना समान्य उपचारमा रहेका छन् । सिरहा प्रशासनका अनुसार कोरोनाका २ विरामी आइसियूमा र १० विरामी सामान्य उपचार गराइरहेका छन् । संक्रमण घटेपछि बजार पूर्णत पहिलेको अवस्थामा फर्किसकेको छ । हुन त स्थानीय प्रशासनले निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन आदेश जारी गरेको छ । तर प्रदेश २ का अधिकांश जिल्लामा निजी सवारी निर्वाध रुपमा सञ्चालनमा आइसकेको छ ।
बजारहरु दिनभर नै खुल्ने गरेको देखिन्छ । बजारमा चहलपहल पनि पहिलैको अवस्था जस्तै देखिन्छ । कोरोनाका कारण बन्द सिनेमा हल, सार्वजनिक यातायात र शैक्षिक संस्था भने कहिलेदेखि सञ्चालनमा आउने ठेगान छैन । स्थानीय प्रशासनले कोरोनाको जोखिम कायम रहेकाले तत्काल खोल्न नसकिने जनाएको छ ।
सिरहा जिल्ला अस्पतालमा ३ जना संक्रमित उपचार गराइरहेको मेसु डा. नागेन्द्र यादवले बताए । उनका अनुसार अब विस्तारै अस्पताल खाली हुन थालेको छ । नीजि अस्पतालहरु खाली भइसकेको छ । उनले अब कोरोनाको तेस्रो लहरको तयारी गर्नुपर्ने बताए ।

