जानकी खबर ।
१० असार, जनकपुरधाम।
धनुषाको मिथिला बिहारी नगरपालिकाको छैठौ नगरसभाको उद्घाटन सत्र सम्पन्न भएको छ ।
बुधबार नगरप्रमुख अनिल यादवले नगरसभाको उद्घाटन गर्दै आर्थिक वर्ष २०७८÷०७९ को लागि जनमुखि बजेट ल्याउने तयारी रहेको बताए । कोरोना महामारीले विश्व नै अक्रान्त भएको बेला मिथिला नगरपालिका प्रभावित हुनु स्वभाविक रहेको बताउँदै उनले नगरबासीको स्वास्थ्यको सुरक्षाको मध्यनजर गरेर बजेट ल्याउने तयारी गरेको बताए । स्वास्थ्य, शिक्षा, कृषि, सडक, पर्यावरण, महिला सशक्तीकरण लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेर आउँदो आर्थिक वर्षको बजेट ल्याउन लागेको नगरप्रमुख यादवले बताए । नगरसभामा स्वागत मन्तव्य राख्दै नगर उपप्रमुख अनिता देवी साहले महिला विकासलाई प्राथमिकतामा राखेर अघि बढनुपर्ने धारणा राखेकी थिइन् । उनले नगरबासीको जनधनको सुरक्षा हुने खालको बजेट ल्याउन लागेको बताइन् । सो अवसरमा वडा नम्बर २ का वडाध्यक्ष सुरेश मण्डलले जनमुखि बजेट ल्याउनुपर्नेमा जोड दिएका थिए । जनताले अनुभूति गर्ने खालको योजनाहरु आउँदो आर्थिक वर्षको बजेटमा समेटनुपर्ने धारणा उनको थियो । वडा नम्बर ८ का वडाध्यक्ष जिवछ यादवले कोरोना संक्रमणले प्रभावित नगरबासीको लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा कार्यपालिका सदस्य रामउदगार दासले जनताले प्रत्यक्ष अनुभूति हुने गर्ने बजेट ल्याउनुपर्नेमा जोड दिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रलाल कर्णले संचालन गरेको उद्घाटन सत्रमा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

