जनकी खबर । असार ९ गते ।
पूर्वघाेषणाअनुसार नयाँ योजना लागू गर्दै गुगलले गुगल फोटोज‘बाट अनलिमिटेड स्टोरेजलाई १५ जीबीमा सीमित गरेको छ।
गुगलले आजदेखि ‘गुगल फोटोज‘बाट अनलिमिटेड स्टोरेजको सुविधा हटाएको हो । अब गुगल फोटोज, जीमेल र गुगल ड्राइभमा १५ जीबीभन्दा माथिको स्टोरेज गर्नुपरे पैसा लाग्नेछ ।
फाइल ब्याकअपले १५ जीबी नाघेपछि महिनाको १.९९ डलर तिर्नुपर्छ । गुगलका अनुसार एक वर्षको तिर्छु भन्नेहरूले यस्तो रकम १९.९९ डलर बुझाउनुपर्छ ।
गुगललाई पैसा तिरेर पाएको स्पेसमा तपाईंले एक सय जीबीसम्मका फाइल राख्न सक्नुहुन्छ । गुगलले हाई क्वालिटी अनि एक्सप्रेस क्वालिटीका सबै नयाँ तस्वीर र भिडियो ब्याकअपलाई १५ जीबीमा गणना हुने गरी स्टोरेज पोलिसी परिवर्तन गरिएकाे जनाएकाे छ ।
गुगलकाे पिक्सेल फोन प्रयोगकर्ताले भने अनलिमिटेड स्टोरेजको सुविधा पाउनेछन् । यसैगरी, पहिलेदेखि नै गुगल वनमा अपग्रेड गरिसकेका र गुगलकाे बिजनेस सर्भिसेस प्रयाेग गरिरहेका प्रयाेगकर्ताहरू पनि नयाँ स्टाेरेज नीतिबाट प्रभावित नहुने गुगलले जनाएकाे छ ।
यसका साथै आजदेखि तपाईंले लगातार दुई वर्षसम्म गुगल प्रयाेग गर्नुभएन भने वा दुई वर्षसम्म डाटा लिमिट पूरा भएपछि पनि अपग्रेड गर्नु भएन भने गुगलले तपाईंका फाइलहरू डिलिट गरिदिन सक्छ । जस्ताे कि, तपाईंले लगातार दुई वर्षसम्म गुगल फाेटाेजकाे प्रयाेग गर्नुभएन तर ड्राइभ र जीमेलचाहिँ चलाइरहनुभएकाे छ भने तपाईंकाे फाेटाेजका डाटा डिलिट हुनेछन् । अर्थात् गुगलकाे जुन-जुन प्राेडक्टमा तपाईं एक्टिभ हुनुहुन्छ, त्यसैका फाइल मात्र सुरक्षित हुनेछन् ।
स्टोरेज खाली गर्न के गर्ने ?
तपाईंले आफ्नाे अकाउण्टदेखि अनावश्यक फोटो, भिडियाे एक-एक गरेर आफैँ पनि डिलिट गर्न सक्नुहुन्छ । अथवा गुगलकाे स्टोरेज म्यानेजमेन्ट टुलकाे सहायता लिन सक्नुहुन्छ । https://one.google.com/storage/management याे गुगलकाे स्टोरेज म्यानेजमेन्ट टुलकाे लिंक हाे ।यहाँबाट तपाईंले जीमेल, फोटो र ड्राइभका ठूला फाइलहरूलाई एकैसाथ डिलिट गर्न सक्नुहुन्छ ।

