जनकी खबर ।असार ८ गते । जनकपुधाम ।
जनकपुरधाम उद्योग बाणिज्य संघले प्रहरीले झुठा विवरण देखाएर व्यवसायीको सामान जफत गरी भन्सार बुझाउने कार्य रोक्न माग गरेको छ ।
राजश्व तिरी ढुवानी गरिरहेको सामान र सवारी साधन विलमा लेखिएको स्थान र गोदाममा नपुग्दै प्रहरीले नियन्त्रणमा लिई सामान ल्याउन प्रहरी हस्तक्षेप गरेको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघले सोमबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । आन्तरिक राजश्व कार्यलयबाट अनुमति पाएको नेपाल–भारत सीमाना नजिक रहेको गोदाम सम्म व्यवसायीलाई समान पु¥याउन प्रहरीले अबरोध गरेको भन्दै प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको जउवा संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । भारतीय सीमाभन्दा ५ सय मिटरको दुरीमा गोदाममा राख्न सरकारको नीतिगत व्यवस्था भए अनुसार स्थानिय उत्पादन र भन्सार तिरी ल्याएको समानहरु बजार सम्म लैजादा प्रहरीले गाडी र सामानहरु समातेर अनावश्यक दुख दिने काम तत्काल बन्द गर्नु पर्ने अध्यक्ष महासेठले बताए । सीमा भन्दा ५ सय मिटरको दुरीमा गोदाम राख्न अनुमति दिने, तर सामान लग्न नदिने कस्तो व्यवस्था हो, अध्यक्ष महासेठले भने,‘गोदाम सम्म सामान लिएर जानु अपराध र गैरकानुनी हो भने सीमाभन्दा ५ सय मिटरको दुरीमा गोदाम राख्न पाउने नीति नै संशोधन गर्नु पर्छ । तस्करीको नाममा व्यवसायीलाई दुख दिन मिल्दैन ।’ प्रहरीसंग लेनदेन मिले जस्तो कामपनि वैध, लेनदेन नमिले कानुन अनुसारको काम पनि अबैध ठहर भएको व्यवसायीको आरोप छ ।
प्रहरीले राजश्व बुझाएको समान जप्mत गरी भन्सारमा बुझाई दिने, सक्कल विलहरु पेश नगर्ने, बजारमा रहेको गाडी र सामानहरु भारतको दशगजामा फेला परेको विवरण पेश गर्ने, भारतमा निकासी गर्न लागेको भन्ने झूठो आरोप लगाई व्यवसायी अधिकार प्रचलनमा रोक लगाउदा आर्थिक नोक्सानी भएको उद्योग बाणिज्य संघले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । प्रहरीले झूठा मुद्दामा फसाएर व्यवसायीलाई निर्वाद रुपले व्यवसाय संचालन गर्न पाउने अधिकारको हनन गरेको उद्योग बाणिज्य संघले आरोप लगाएको छ । राजश्व बुझाएको प्यान, भ्याट रहेको सामानहरु प्रहरीले बरामद गर्ने गराउने काम बन्द गरिनु पर्ने, विल भएको समानहरु र सवारी साधान सम्बन्धित भन्सार कार्यालयले लिलाम गर्ने, जफत गर्ने, झूठा आरोप लगाई मुद्दा चलाउने काम बन्द गरीनु पर्ने उद्योग वाणिज्य संगले माग गरेको छ । झूठा मुद्दा लगाउने सुचनाकर्ता , सामान बरामद गर्ने प्रहरी समेतलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने, व्यवसायिको सामान फेला परे उद्योग वाणिज्य संघको पदाधिकारी अनिवार्य रोहवरमा राखि मुचुल्का उठाउने प्रावधान राख्नु पर्ने माग राख्दै जनकपुरका व्यवसायीहरुले प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।


