जनकी खबर । असार ६ गते ।जनकपुरधाम ।
जसपाको आधिकारिकता विवाद टुंगोमा पुर्याउनका लागि ४५ दिन लाग्ने भएको छ।
लगातार ६ महिनादेखि आन्तरिक विवादको भूमरीमा फसेको जनता समाजवादी पार्टी (जसपा) अहिले फुटको अवस्थामा पुगिसकेको छ। अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूह र अर्का अध्यक्ष महन्थ ठाकुर समूह आ-आफ्नो ढंगले चलिरहेको छ। एउटै पार्टीका केही नेता सरकारमा सामेल छन्। केही सरकार विरोध मोर्चामा छन्।
पछिल्लो समय पार्टीको आधिकारिकताका लागि लडाईँ चलिरहेको छ। सबै प्रक्रिया पूरा भएर आएको हो भने प्रक्रिया पुर्याएरै काम गर्न करिब डेढ महिना समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।
तत्कालीन समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीले २०७७ साल बैशाख ११ गते आकस्मिक रुपमा पार्टी एकता गरी जनता समाजवादी पार्टी गठन गरेका थिए।
दुई पार्टी एकता गर्दा उपेन्द्र यादव पक्ष केही बलियो थियो तर उमेर तथा लामो राजनीतिक लिगेसीका कारण ठाकुरलाई पहिलो वरियताका अध्यक्ष बनाइएको थियो। ठाकुर लामो समय नेपाली कांग्रेसबाट राजनीति गरेका नेता हुन्।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचन अगाडि कांग्रेस पार्टी छाडेर ठाकुरले आफ्नो नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका थिए।
सत्ता समीकरणको विषयमा सुरु भएको विवादले एकता अधिवेशन गर्न नपाउँदै विभाजनको रेखा कोरेको छ। एक पक्षले अर्को पक्षलाई कारबाही गरेको पत्र लिएर निर्वाचन आयोगमा दौडादौड छ। पार्टीको आधिकारिकता आफ्नो पक्षमा पार्ने होडबाजी चलिरहेको छ।
प्रतिनिधिसभा पुनःस्थापनापछि जसपामा विवाद बढ्दै गएको देखिन्छ। नेकपा विभाजन गरी एमाले, माओवादी ब्यूँताउने २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि जसपा विस्तारै दुई धारमा लाग्न थालेको थियो। ओलीलाई समर्थन गर्नुपर्छ भन्ने प्रथम अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो पक्ष र ओलीलाई जसरी पनि सत्ताबाट हटाउनैपर्छ भन्ने अर्का अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई पक्षको अडानले नै विभाजनको अवस्थासम्म आइपुगेको देखिन्छ।
अहिले दुवै पाटीको नाम र चुनाव चिन्ह आफ्नो पक्षमा पार्न कानुनी उपचारमा लागिरहेका छन्। निर्वाचन आयोगमा जसपा विभाजनको विवाद गत पुस ५ पछिको तत्कालीन नेकपाकै रुपमा अघि बढिरहेको छ।

