जनकी खबर । ३० जेठ जनकपुरधाम ।
मुख्यमन्त्री लालबाबु राउतले बोलाएको जसपा संसदीय दलको बैठकबाट नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको छ ।
जनता समाजवादी पार्टी, प्रदेश २ संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको हो ।
सरकारका तर्फबाट प्रदेश प्रमुख डा. राजेश झा अहिराजले जेठ २७ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आइतबार पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।
आइतबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
जसपा भित्रको असन्तुष्टिका कारण नीति तथा कार्यक्रम पारित नहुने आशंकाबीच ह्वीप जारी गर्नु परेको जसपाका प्रमुख सचेतक शैलेन्द्र यादवले जानकारी दिए । ‘संसदीय दलका नेताको निर्देशनमा सबै माननीयहरूलाई पत्र पठाइएको र सबैले ह्वीपको पालना गर्नु पर्ने प्रमुख सचेतक यादवले बताए ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले छलफलमा उठेका प्रश्नको जवाफ दिने र मुख्यमन्त्रीले जवाफ दिएपछि आजै नीति तथा कार्यक्रम निर्णयार्थ प्रदेशसभामा पेश हुने जानकारी प्रदेशसभा सचिवालयले दिएको छ ।
यता जसपा महन्थ–राजेन्द्र पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले पार्टीको विवाद निर्वाचन आयोगमा पुगेको र विवाद समाधान नहुन्जेल आफूहरु पार्टीकै सदस्य रहेकोले विपक्षमा जाने प्रश्न नै नरहेको उनले स्पष्ट गर्नुभयो ।

