जानकी खबर ।जेठ २२ जनकपुरधाम ।
प्रदेश २ मा सत्ता परिवर्तनको खेल सुरु भएको छ । जसपा भित्रको चरम विवादले सत्ता परिवर्तनको खेल सुरु भएको हो ।जसपा अध्यक्ष महन्त ठाकुर पक्ष केन्द्रिय सरकारमा सहभागि भएसंगै प्रदेश २ मा पनि सत्ता परिवर्तनको खेल सुरु भएको छ।
सत्ता समिकरण हेरफेर गर्न जसपाका अध्यक्ष उपेन्द्र यादव शुक्रबार साँझ काठमाडौंबाट जनकपुरधाम आएका छन् ।
जनकपुर आएका यादव ठाकुर पक्षलाई सरकारबाट हटाएर काँग्रेस र माओवादीलाई ल्याउने गरी छलफलमा सक्रिय भएका हुन् ।
अहिले प्रदेश २ मा जसपा नेतृत्वको बहुमतको सरकार छ । पूर्व संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको सरकार बनेको थियो । पछि पार्टी एकता हुँदा जसपाको एकल बहुमतको सरकार थियो । जसपाको पूर्ण मिलन नहुँदै पछिल्लो राजनीतिक घटनाक्रमले सम्बन्ध बिच्छेदको डिलमा पुगेको हो ।
सत्ता समिकरणको विषयमा पार्टी अध्यक्ष यादव छलफलमा सक्रिय भएको उनका पक्षका नेता तथा निवर्तमान सांसद डा. सुरेन्द्र यादवले जानकारी दिए ।
काँग्रेस र माओवादीलाई सरकारमा ल्याउने र सरकार परिवर्तन अथवा लालबाबु राउत नेतृत्वकै सरकारमा सहभागि गराउने विषयमा छलफल भइरहेको बताइएको छ ।
हाल प्रदेश २ मा जनता समाजवादी पार्टीभित्रका पूर्वसंघीय समाजवादी फोरमका ३० र पूर्वराजपाका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ र एक जना स्वतन्त्र सांसद छन् ।
यसअघि प्रदेश सभाको सदस्य संख्या १०७ भए पनि एमाले ओली पक्षमा सामेल एक समानुपतिकसहित आफ्ना ४ जना प्रदेश सांसदलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । तर माओवादी केन्द्रले खाली समानुपातिक कोटामा सांसद चयन गरिसकेकाले अहिले प्रदेश सभामा कायम सदस्य संख्या १०४ छ ।
यस हिसाबले प्रदेश २ मा बहुमतको सरकार बनाउन कम्तीमा ५३ सांसदको अवस्कत पर्नेछ ।
यादवले प्रदेश २ को सत्ता समिकरणको विषयमा काँग्रेसलाई सरकारमा ल्याउने विषयमा शुक्रबार बिहान काँग्रेस सभापति विमलेन्द्र निधिसंग भेटबार्ता गरेका थिए । भेटघाटपछि उनी जनकपुर आइपुगेका हुन् ।

