जनकी खबर ।जेठ २१काठमाडौं ।
समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र कांग्रेस उपसभापति विमलेन्द्र निधिबीच प्रदेश-२ मा सत्ता सहकार्यको विषयमा भेटवार्ता भएको छ ।
प्रदेश नम्बर–२ को सत्ता समीकरणबारे छलफल गर्न यादव आज विहान निधि निवास मध्यबानेश्वर पुगेका हुन् ।
यादवसँग सत्ता सहकार्यबारे छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले पुष्टि गरे। ‘राष्ट्रिय राजनीतिमा पनि सहकार्य भइरहेकाले प्रदेश–२ को सरकारबारे के गर्ने भन्ने छलफल भएको दाहालले बताए । सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन यादवतर्फका १२ सांसदले हस्ताक्षर गरेका छन् ।
प्रदेश–२ मा जसपाको यादव निकट लालबाबु राउत मुख्यमन्त्री छन् । तर अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेपछि जसपा विभाजन नजिक पुगेको छ । यसको असर प्रदेश–२ को सरकारमा पर्ने भएपछि यादवले कांग्रेसको समर्थन खोजेको हो ।
यादवको प्रस्तावलाई उपसभापति निधिले सकारात्मक रुपमा लिने र थप छलफल गर्न तयार रहेको बताएका छन् । स्रोतका अनुसार शुक्रबारको भेटमा निधिसँग यादवले प्रदेश–२ को सरकारमा तत्काल सहभागी हुन प्रस्ताव गरेका थिए ।
तर तीन वर्ष जसपाले नेतृत्व गरिसकेकाले बाँकी कार्यकाल कांग्रेसलाई दिन निधिले प्रस्ताव गरे । यादव जनकपुर जाने समय तय भएकाले छलफल निष्कर्षमा भने पुगेन । तर निधि र यादवबीच फेरि पनि थप छलफल हुने भएको छ ।
१०७ सदस्यीय प्रदेशसभामा जसपाका ५५ सांसद छन् । जसपाको यादव पक्ष ३० र ठाकुर पक्ष सँग २५ जना छन् ।
त्यस्तै नेकपा एमालेका २१, माओवादी केन्द्रका ११, अन्य दुई सांसद थिए । त्यसमध्ये माओवादी केन्द्रले चार जनालाई निष्कासन गरेर एक जनालाई मनोनीत गरिसकेका कारण प्रदेशसभा १०४ सदस्यीय भएको छ । प्रदेश २ मा सरकार निर्माणका लागि ५३ सांसद आवश्यक छ ।

