जनकी खबर ।जेठ २०,जनकपुरधाम
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ल्याएको बालुवा गिट्टी निकासीको नीतिलाई सच्याउन माग गरेका छन्।
मुख्यमन्त्री राउत्ले बालुवा गिट्टी निकासीको नीति यस प्रदेशलाई मरुभूमि बनाउनेतर्फ उन्मुख रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् ।
राउतले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त नीति तत्काल सच्याउन माग गरेका हुन् ।
अर्थिक वर्ष २०७८/०७९ को आयव्ययको सार्वजनिक जानकारी वक्तव्यमा ‘वातावरणीय प्रभाव मुल्याङ्कनको आधारमा खानीजन्य पदार्थ निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छ।
निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दु सम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महशूल छुट दिने’ व्यवस्था मिलाउने उल्लेख छ।
उत नीतिप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै राउतले विज्ञप्तिमा नेपाल सरकारको यस्तो अदूरदर्शी निर्णयले प्रदेश २ बाट ढुंगा, गिटी, बालुवा उत्खनन् गर्ने योजनाले देशकै सम्पूर्ण भू–भाग मरुभूमिकरण हुने र जनताको बिल्लीबाठ हुने निश्चित रहेको उल्लेख गरेका छन्।
वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहान संरक्षणको साथै प्रदेश २ लाई मरुभूमिकरण हुनबाट जोगाउने कार्यप्रति प्रदेश सरकार सजग रहेको जनाउँदै उनले सरकारको बजेट वक्तव्यलाई सच्याउन आग्रहसमेत गरेका छन्।
संघीय सरकारले यस कार्यलाई तत्काल नरोके तराई मधेशको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिने विज्ञप्तिमा उल्लेख छ।


