जनकी खबर । जेठ १९ जनकपुरधाम

नारायणहिटी राजदरवारभित्रै राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्ष पूरा भएको छ ।

हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको हो ।

२०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।

पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

प्रधानन्यायाधीश संयोजकत्वको समितिपछि उक्त घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । तर बेलाबेलामा सरकारी तवरबाटै यसको छानविनको माग भने उठ्ने गरेको पाइन्छ । यद्यपि राजनीतिक प्रतिशोधका कारण यस्ता माग उठ्ने गरेको भए पनि यस हत्याकाण्डको सत्य घटना सार्वजनिक गर्नेतर्फ चासो दिने गरेको पाइँदैन ।

तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए । त्यतिबेला यो प्रस्ताव मन्त्रीपरिषद्सम्म पुगेको भएपनि पछि त्यसै सेलायो ।

२०५८ साल जेठ १९ गते वीरेन्द्र र उनको परिवारका सबै सदस्यको ज्यान जानेगरी भएको दरबार हत्याकाण्डमा युवराज दीपेन्द्रले गोली चलाएको बताइएको छ।

हत्याकाण्डपछि राजगद्दी सम्हालेका वीरेन्द्रका भाइ ज्ञानेन्द्रले गठन गरेका एउटा उच्चस्तरिय छानविनले पनि दीपेन्द्रलाई दोषी ठहर्‍याएको थियो।

धेरै मानिसहरुले सो छानविनको निष्कर्षलाई नपत्याएपछि विभिन्न राजनीतिक दलका नेताहरुले सो हत्याकाण्डको पुन: छानविन गर्ने बताउँदै आएका छन् ।

तर त्यसो हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *