जनकी खबर ।जेठ १६

गुगलले पनि आफ्नो रिटेल स्टोर खोल्ने निर्णय गरेको छ ।

चेल्सी इलाकामा रहेका गुगलका कार्यालयमै रिटेल स्टोर स्थापना हुनेछ ।

यहीँ गृष्मयाममा न्युयोर्क सिटीमा आफ्नो पहिलो भौतिक पसलको रुपमा गुगल स्टोर खोल्ने घोषणा गुगलले बिहीबार गरेको छ ।

गुगलले सञ्चालन गर्ने रिटेल स्टोरबाट पिक्सेल फोन, गुगल नेक्स्टका प्रडक्टहरुका साथै पिक्सेल बुक तथा फिटबिट डिभाइसहरू बिक्री गरिनेछ ।

एप्पलको जिनियस बार अवधारणा जस्तै गुगलले पनि रिटेल स्टोरहरुमा दक्ष कर्मचारीहरु खटाउनेछ जसले गुगलका सामानहरुमा देखा परेका समस्या समाधान गर्ने, पिक्सेल फोनको स्क्रिन मर्मत गर्ने तथा सफ्टवेयर इन्स्टल गरिदिने लगायतका काम गरिदिनेछन् ।

केही वर्षयता गुगलले न्युयोर्क, शिकागो तथा लण्डन लगायतका सहरमा अस्थायी हार्डवेयर पसल खोल्ने गरेको छ जहाँ ग्राहकहरुले सामान हेर्न, वर्कसपमा भाग लिन तथा सामान खरिद गर्न पनि सक्छन् ।

तथापि आफ्ना सामान बिक्रीका लागि गुगल हालसम्म अधिकांशतः आफ्नो वेबसाइट तथा अन्य बिक्रेताहरुको भर पर्ने गरेको छ, जसमा बेस्ट बाइ तथा अमेजन लगायतका मुख्य छन् ।

विश्वमा आफ्नै रिटेल स्टोर सञ्चालन गरेर एप्पलले सफलता प्राप्त गरिरहेको भएपनि अन्य धेरै यस्ता कम्पनीहरू संघर्षरत छन् ।

यसअघि माइक्रोसफ्टले पनि आफ्नो रिटेल स्टोरको रुपमा धेरै ठाउँमा माइक्रोसफ्ट स्टोर्स खोलेको थियो ।

एक ब्लग पोष्टमा गुगलले रिटेल स्टोर स्थापना गर्ने कदम गुगलको हार्डवेयर तर्फको यात्रामा एक महत्वपूर्ण कदम रहेको जनाएको छ ।

न्युयोर्क सिटीस्थित गुगल कार्यालयहरूमा ११ हजार भन्दा धेरै गुगलका कर्मचारीहरुले काम गर्दै आएका छन् ।

सिएनएनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *