जानकी खबर ।जेठ १५

काठमाडौं । पछिल्लो समय सेयर बजार सर्वसाधारणको आकर्षणको केन्द्र बनेको छ ।

सरकारलाई यस आर्थिक वर्षमा सेयर बजारवाट २ महिना बाँकी छदै १० अर्ब रुपैयाँ बढी राजश्व उठेको छ ।

सीडीएसका अधिकारीले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा जम्मा १ अर्ब ९३ करोड रुपैयाँमात्रै सेयर बजारबाट सरकारलाई राजश्व संकलन भएको थियो ।

गत बिहीबारमात्रै सेयर बजारमा एकैदिन पौने १५ अर्ब रुपैयाँको सेयर कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । सेयर बजार यसरी बढ्दा लगानीकर्ताहरुले राम्रै नाफा कमाएका छन् । सेयर बजारमा यतिधेरै आकर्षण बढिरहदा यसबाट सरकारलाई फाइदा हुन्छ ।

गत आर्थिक वर्ष एक वर्षमा सरकारले सेयर बजारबाट गरेको आम्दानी चालु आर्थिक वर्षको एक महिनामा नै संकलन भएको छ । सेयर बजारबाट प्राप्त गर्ने सरकारको मूख्य आम्दानी भनेको पुँजीगत लाभकर हो ।

सेयर बजारको सम्पूर्ण लेखाजोखा राख्ने नेपाल सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख महिनामा मात्रै पुँजीगत लाभकर वापत लगानीकर्ताहरुले ९ अर्ब ६१ करोड ८३ लाख २३ हजार रुपैयाँ सरकारलाई बुझाएका छन् ।

सेयर बजारबाट आउने राजश्व अरु पनि भए पनि मूख्य आम्दानी भने पुँजीगत लाभकर नै हो । सेयर ब्रोकर कम्पनीहरुले पनि सरकारलाई आम्दानीको ३० प्रतिशत आयकर तिर्छन ।

अहिले ब्रोकर कम्पनीहरुले ब्रोकर कमिशन ०.२७  देखि ०.४० सेयर कारोबार वापत लगानीकर्ताहरुसँग कमिशन लिने गरेका छन् ।

यसको २० प्रतिशत नेपाल स्टक एक्सचेञ्जलाई जान्छ । बाँकी रहेको ८० प्रतिशतको १५ प्रतिशत अग्रिम कर लिने हो । बाँकी १५ प्रतिशत पछि तिर्ने सीडीएसले बताएको छ ।

यो १५ प्रतिशत वापत वैशाख मसान्तसम्म ९८ करोड ६३ लाख २२ हजार रुपैयाँ राजश्व संकलन भएको सीडीएसले बताएको छ ।

गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्ष १० गुणा भन्दा धेरैले सेयर बजारबाट सरकारको आम्दानी बढ्ने देखिएको छ ।

डेस्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *