जनकी खबर ।१२ जेठ

काठमाडौँ — नेपालमै तयार पारिएको अक्सिजन सिलिन्डरको दुवै चरणको परीक्षण सकिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालमै अक्सिजन सिलिण्डर निर्माण प्रक्रिया अघि बढाई स्थानीय स्तरमा उपलब्ध स्रोत सामग्री उपयोग गरी अक्सिजन सिलिन्डरको अभाव सकेसम्म छिटो पूर्ति गर्ने उद्देश्यका साथ   तयारी गारेका हो । यसका लागि नास्टले उद्योग क्षेत्रसँग सहकार्यको हात समेत अघि बढाएको छ ।      नेपाल विज्ञान तथा प्रतिष्ठान (नास्ट) को अगुवाइमा नेपालमै तयार पारिएको अक्सिजन सिलिन्डरको दोस्रो परीक्षण पूर्ण रूपमा सफल भएको यसको अगुवाइ गरिरहेका नास्टका वरिष्ठ प्राविधिक अधिकृत शंकर ढकालले जानकारी दिए ।


सिलिन्डरको दोस्रो चरणको परीक्षण सफल भएपछि निजी क्षेत्रलाई पनि व्यावसायिक उत्पादनका लागि खुला गर्ने तयारी भइरहेको उनले बताए । नास्ट परिसरमा आइतबार राति गरिएको दोस्रो चरणको परीक्षणमा नेपालमा तयार पारिएको अक्सिजन सिलिन्डरले थेग्नुपर्ने आवश्यक चापभन्दा तीन गुणा बढी चाप थेपेको ढकालले बताए ।

नास्टले पहिलो चरणमा गरेको परीक्षणमा अक्सिजन सिलिन्डरले आवश्यक चाप थेग्न सक्ने प्रमाणित भएको थियो । परीक्षणका क्रममा सिलिन्डरमा राखिएको भल्भ लिकेज भएको थियो । पहिलो चरणमा देखिएको समस्या सुधार गरी दोस्रो चरणमा सिलिन्डर परीक्षण गरिएको थियो । आइतबार राति दुईवटा सिलिन्डरको परीक्षण गरिएको ढकालले जानकारी दिए । अक्सिजन सिलिन्डरले १ सय ५० केजी प्रतिवर्ग सेन्टिमिटर चाप (प्रेसर) खेप्नुपर्ने मापदण्ड छ । नास्टले गरेको परीक्षणमा नेपालमा तयार अक्सिजन सिलिन्डरको प्रोटोटाइपले २ सय ३५ प्रतिवर्ग सेन्टिमिटरसम्म चाप धानेको थियो । सिलिन्डरले आवश्यकभन्दा बढी चाप खपेको भए पनि परीक्षणका क्रममा यो आंशिक सफलता भएको ढकालले बताए । आइतबार राति गरिएको दोस्रो चरणको परीक्षणका क्रममा भने सिलिन्डरले ५ सय १५ प्रतिवर्ग सेन्टिमिटरसम्म चाप धानेको थियो । कोभिड–१९ को संक्रमण बढेका बेला देशभर अक्सिजन सिलिन्डरको अभाव भएपछि नास्टले सिलिन्डर तयार पारी परीक्षण थालेको थियो ।

नास्टले सुरुमा एलपीजी ग्यास सिलिन्डरमा अक्सिजन राख्न सकिने विकल्पमा अध्ययन गरेको थियो । तर प्राविधिक हिसाबले सम्भव नभएपछि अक्सिजन सिलिन्डरको छुट्टै प्रोटोटाइप तयार पारिएको थियो । एलपीजी ग्यास सिलिन्डरले १५ केजी प्रतिसीएम स्क्वायर मात्रै प्रेसर खप्न सक्ने भएकाले प्राविधिक रूपमा यो सम्भव नभएको वरिष्ठ प्राविधिक अधिकृत ढकालले बताए ।

नेपालमा आयात भइरहेको सिलिन्डरकै स्वरूपमा नास्टले ६ एमएम बाक्लो फलाम प्रयोग गरेर सिलिन्डरको प्रोटोटाइप तयार पारेको हो । सिलिन्डर निर्माणमा नास्टका वैज्ञानिक र प्राविधिकसहित निजी क्षेत्रका उद्योगी पनि संलग्न छन् । सुरुमा ग्यास सिलिन्डरको प्रेसर मापनका लागि नेपालमा रहेका ग्यास उद्योगहरूमा भएको ल्याब प्रयोग गर्ने भनिए पनि प्राविधिक रूपमा असम्भव भएपछि नास्टले आफ्नै ल्याब तयार पारेको हो ।

नास्टका वैज्ञानिक ढकालसहित निजी क्षेत्रका प्रतिनिधि सुजन श्रेष्ठ, कृष्ण ढकाल, पूर्णराज सुवेदी, गौतम अर्यालको प्रत्यक्ष संलग्नतामा अक्सिजन सिलिन्डरको प्रोटोटाइप तयार पारिएको हो । अब सिलिन्डरको परीक्षण सफल भइसकेकाले निजी क्षेत्रलाई पनि यसको उत्पादनको लागि जिम्मा दिने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *