जनकी खबर ।जेठ १२
अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएका विवरणहरू आएका छन्।
अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन्।
कोभिड-१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो ।
त्यसयता उक्त भाइरसबाट विश्वभरि १६ करोड ७० लाख मानिस प्रभावित भइसकेका छन् भने ३४ लाखको ज्यान गइसकेको छ ।
अमेरिकी जासुसी सूत्रहरूको हवाला दिइएका विवरणहरूमा सन् २०१९ को नोभेम्बर महिनामा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्यहरू बिरामी भएर अस्पताल भर्ना भएको उल्लेख छ।
त्यो घटना चीनले नयाँ रोग समुदायमा देखा परेको स्वीकार्नुभन्दा कैयौँ साता पहिले भएको विवरणमा बताइएको छ।
यसै सन्दर्भमा डब्ल्यूएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताएका छन्।
मङ्गलवार डब्ल्यूएचओको बैठकमा बोल्दै बेसेराले चीनको नाम नलिकनै अमेरिकाले अर्को चरणको छानबिन थप सघन हुने आशा गरेको बताए।
मङ्गलवार ह्वाइट हाउसले पनि उसले डब्ल्यूएचओबाट विज्ञहरूद्वारा सञ्चालित अनि राजनीतिकरणबाट मुक्त ढङ्गले महामारीको उत्पत्ति छानबिन गर्ने आशा गरेको जनाएको छ।
प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने भनाइलाई गत वर्ष षड्यन्त्रको सिद्धान्त मानिएर खारेज गरिएको थियो।
त्यति बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट फैलिएको भन्ने भनाइ राखेका थिए।
कैयौँ अमेरिकी सञ्चारमाध्यमले उनको दाबीलाई झुटो भनेका थिए। पछिल्ला विवरणहरूप्रति ट्रम्पले प्रतिक्रिया जनाएका छन्।
उनले मङ्गलवार न्यूयोर्क पोस्टलाई एक इमेल लेख्दै आफूलाई ‘उक्त विषय शुरूमै थाहा भएको तर सदाझैँ निकै आलोचित हुनुपरेको’ भनेका छन्।
source .BBC

