जानकी खबर ।८ जेठ

काठमाडौं । शुक्रबार मध्यरातमा राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्रीका लागि परेको दुवै दाबी नपुग्ने वक्तव्य आएको हो।मन्त्रिपरिषद् बैठक बस्यो र संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्न सिफारिश गर्ने निर्णय भयो ।

मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरुलाई साँझ सात बजे नै बोलाइएको भए पनि राष्ट्रपति कार्यालयको वक्तव्य कुर्दा मध्यरात भएको थियो । राष्ट्रपतिले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्दा २ बजेको थियो ।

राष्ट्रपतिले २१ घण्टाको समय दिएर संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेश गरेका थिए ।

यसअघि पनि गत पुस ५ गते पनि संसद विघटन गरिएको थियो । तर सर्वोच्चले फागुन ११ गतेको फैसलाबाट त्यसलाई उल्टाइदिएको थियो ।

देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए । ओलीले भने एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए ।
 राष्ट्रपति भण्डारीले भने दुवैको समर्थनकर्ता भनिएका सांसदहरु एकअर्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखेर आएकाले संसदको विश्वासको मत प्राप्त गर्ने ठोस आधार नदेखिएको बताएकी छन् । 
 त्यसैले दुवै दाबीकर्ताको दाबी नपुग्ने देखिएकाले प्रधानमन्त्री पदमा नियुक्त गर्न नमिल्ने  राष्ट्रपतिको निर्णयमा उल्लेख  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *