
जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा रहेका हरेक मठ मंन्दिरहरुमा बुधबारदेखि झुलनोत्सव पर्व शुरु भएको छ ।
साउन शुक्ल तृतीया तिथिबाट सुरु भएर पूर्णिमासम्म झुलनोत्सव जारी रहनेछ । यस महोत्सवमा भगवान् श्रीराम माता सीता सहितका देवी देउताहरूलाई कलात्मक झुलामा राखेर आज साँझदेखि रेशमको डोरीले तानेर झुलाइने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त एवं रामानन्दीय वैष्णव संघका अध्यक्ष रामरोशनदास वैष्णवले जानकारी दिनु भएको हो ।
झुलनोत्सवमा अवधिभरि जनकपुरधामका मठ मन्दिरहरूमा विशेष रौनकता रहने गरेको छ । यस पर्वमा भजन कीर्तन सहित विभिन्न प्रकारका गीत सङ्गीत तथा नृत्य प्रदर्शन गर्ने भएकाले विशेष रौनकता रहने गरेको छ । झुलनोत्वमा सहभागी हुनका लागि नेपाल र भारतका विभिन्न भागहरूबाट पर्यटकहरू जनकपुरधाम आउने गरेकाले विशेष चहल पहल पनि बढेको छ ।
जनकपुरधामको रत्नसागर, विहारकुण्ड, अग्निकुण्ड सहितका मठ मन्दिरमा आज साँझ देखि मध्यरातसम्म झुलनोत्सव चल्ने भएकाले विशेष भिडभाड रहने गरेका छन् । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने चलन प्रचलन रहेको छ । यसका लागि भाडामा नर्तकहरू आउनुका साथै भक्तजनहरू आफै आउने तथा नाच्ने गरेका छन् ।
जनकपुरधाममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदी महन्त सुरकिशोर दास वैष्णवले गराउनुभएको र त्यसपछिका महन्तहरूले निरन्तरता दिँदै आउनु भएको छ । यसको देखा सिकी गरेर अन्य मठ मंन्दिरहरुले पनि झुलनोत्सव पर्व मनाउँदै आएको छ ।
झुला मिथिलाञ्चल सहित तराई मधेशमा धानको रोपाइँ समाप्त भएपछि हुने चलन रहेको छ । विश्व शान्ति तथा मानव कल्याणका लागि प्रत्येक वर्ष मिथिला सहित तराई मधेशका जिल्लाहरूमा झुलनोत्सव पर्व मनाउने प्रचलन रहँदै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासको रहेको छ । यस अघि हिजो नगर दर्शन सम्पन्न भएका थिए ।
