
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
शुक्रबार जनकपुरमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । त्यस्तै मुख्यमन्त्री सिंहसँगै मन्त्रीहरुले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा युवराज भट्टराई, भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोज कुमार यादव, भूमि व्यवस्था मन्त्रीमा गोविन्द बहादुर न्यौपाने, शिक्षा मन्त्रीमा राज कुमार लेखीले सपथ लिनुभएको छ । त्यस्तै स्वास्थ्य मन्त्रीमा शत्रुघन प्रसाद सिंह, ऊर्जामन्त्रीमा बेची लुङ्गेली, खेलकुद मन्त्रीमा प्रमोद कुमार जयसवालले सपथ लिनुभएको छ भने गृह, सञ्चार तथा कानून मन्त्रीमा विमला अंसारी, श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरीले सपथ लिनुभएको छ । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्रीले नै सम्हालने गरि तोकिएको छ ।
जनमत पार्टीका सांसद सिंह संविधानको धारा १६८ को उपधारा २ बमोजिम शुक्रबार नै मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । सिंहले जनमतका साथै, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गर्दै ९ वटा निर्णय गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा निर्णय गरेका हुन् ।
मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई लक्षित गरी नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने निर्णय गरेका छन् ।
यसअघिका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न शुक्रबार बिहानसम्मको समय दिनुभएको थियो ।
