जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनलाई थप पाँच दिन हिरासतमा राख्न समय मागेकोमा शुक्रबार न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिनको मात्रै अनुमति दिएको हो । 
नागरिकतासम्बन्धी प्रकरणमा प्रहरीले गत मंगलबार सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो । लगत्तै उनलाई धनुषा लगिएको थियो । बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । समयावधि सकिएपछि उनलाई शुक्रबार फेरि अदालतमा उपस्थित गराइएको हो ।
शुक्रबार सिरोहिया पक्षमा कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टीकाराम भट्टराईले बहस गरेका छन् । त्यस्तै, अधिवक्ताहरू दीपेन्द्र झा, रमणकुमार कर्ण र किशोर पौडेलले पनि सिरोहियाको पक्षमा बहस गरेका थिए । उनीहरूले सिरोहियालाई न्यायिक हिरासतमा राख्नुपर्ने कारण नरहेको तर्क गरेका थिए । सरकारी तर्फबाट सरकारी वकिल सुदीप डंगोलले बहस गरेका थिए ।

काठमाण्डूबाट मङ्गलवार नियन्त्रणमा लिइएका सिरोहियालाई शुक्रवार दोस्रो पटक म्याद थपका लागि अदालतमा पेस गरिएको थियो।
अदालत लैजानुअघि जिल्ला सरकारी वकिलको कार्यालयमा सिरोहियासँग बयान लिइएको थियो। बयानका क्रममा उनले आफूले एउटा मात्र नागरिकता लिएको र किर्ते नगरेको दाबी गरेका थिए।

सहकरीको बचत अपचलनका विषयमा गृहमन्त्रीमाथि लागेको आरोपबारे निरन्तर समाचार प्रकाशित गरिरहेको कान्तिपुरका अध्यक्षलाई प्रतिशोध लिन पक्राउ गरिएको भन्दै विभिन्न सङ्घसंस्थाले उनको रिहाइको माग गर्दै आएका छन्।
सिरोहियाले नागरिकता दुरुपयोग गरेको भन्दै वैशाख तेस्रो साता प्रहरीमा जाहेरी परेको थियो।
जाहेरी दिने व्यक्ति गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता भएको विवरण विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।

प्रहरीले यसअघि अदालतमा पेस परेको विवरणमा सिरोहियाकै नाममा रहेको नागरिकता अर्का व्यक्तिको नाममा समेत पाइएको उल्लेख छ।
उनलाई पक्राउ गर्नुको कारण खुलाउँदै प्रहरीले पेस गरेको अर्को कारणमा जिल्ला प्रशासन कार्यालय धनुषाको अभिलेखमा सिरोहियाका दाजु र दिदीहरूको नागरिकता अङ्गीकृत रहेको पाइएको र उनको जन्मसिद्ध नागरिकता रहेको देखिएको उल्लेख छ।
प्रहरीले सिरोहियाको नागरिकताको प्रतिलिपिमा जन्ममिति किर्ते गरेर पछि थप गरिएको आशङ्का गरेको छ। साथै जन्ममिति र नागरिकता लिँदाको उमेर पनि मेल नखाएको प्रहरीको आरोप छ। साथै उनले नागरिकता लिँदा पेस गर्नुपर्ने कागजपत्रहरूको अभिलेख फेला नपरेको प्रहरीको जिकिर छ।

यद्यपि सिरोहियाले आफूले वंशज नागरिकता लिएको तर त्यसबारे देखिएका कमजोरी प्रशासनको त्रुटिका कारण भएको हुन सक्ने भन्दै त्यसमा आफ्नो दोष नरहेको दाबी गर्दै आएका छन्।
उनका वकिलले अदालतमा दिएको स्पष्टीकरणमा सिरोहियाले नागरिकतामा जन्ममिति पछि थप गरेको नभई सरकारी अधिकारीले नै थप गरेर खुलाइदिएको जिकिर गरिएको छ।
आफ्नो नागरिकताबारे उजुरी परेको समाचार सार्वजनिक भएलगत्तै सिरोहियाले आफूविरुद्ध धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा त्यसलाई रोकिपाऊँ भन्दै रिट निवेदन दायर गरेका थिए।

कान्तिपुरका अध्यक्ष सिरोहियाले कानुनअनुसार हुने अनुसन्धानमा आफूले सहयोग गर्ने बताइरहँदा पनि गृहमन्त्री र सरकारले प्रतिशोधको भावनाबाट प्रेरित भएर पक्राउ गरिएको आरोप लगाएका छन्।

एजेनसीको सहियोगमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *