
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् ।
आफ्नो निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा मङ्गलबार नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले विपिन जोशी रिहाइको विषय उठाएका उनको सचिवालयले जनाएको छ ।
गत ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै थाहा हुन सकेको छैन । कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने जवाफ दिएका राष्ट्रपतिका सल्लाहकार पोखरेलले बताए ।
