जनकपुरधाम । मिथिलासहित तराई मधेशका जिल्लामा श्रद्धा–भक्तिपूर्वक चैते छठको मुख्य दिन आइतबार सन्ध्याकालीन अर्घ दिनका लागि व्रतीहरू जनकपुरधामका विभिन्न छठ घाटहरूमा भेला भएका छन् ।

चैत्र शुक्लपक्ष चतुर्थी तिथिका दिन नहाखाय गरेर शुरु भएको चैते छठ अन्तर्गत आइतबार षष्ठी तिथिको अवसर पारेर अस्ताउन लागेको सूर्यलाई पहिलो अर्घ दिन लागेको छ । यसै गरि भोली सोमवार उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि पर्वको समापन गरिनेछ ।
सुख, शान्ति, समृद्धि, परिवार जनको कल्याण, सन्तानको दीर्घायु, नयाँ सन्तानको प्राप्ति, पतिको दीर्घायुको साथै चर्म रोग नलाग्ने लागेको भए पनि निको हुने धार्मिक मान्यता सहित छठ पर्व मनाउने चलन रहेको छ ।
गृष्म कालको छठ भएकाले शरद ऋतुको कार्तिक महिनामा मनाइने छठ भन्दा चैते छठ गर्नेको सङ्ख्या कमी भए पनि वर्षैपिच्छे व्रत गर्नेहरुको सङ्ख्या बढिरहेको छ । जनकपुरधामको केही पोखरीमा मनाइने चैते छठ विगत केही वर्ष यता धेरै पोखरीहरूमा मनाउन थालिएको छ ।
मूलतः जनकपुरधामको गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, अग्नि कुण्ड, बाल्मिकीसर सहितका पोखरीहरूमा व्रतीहरू आज दिउँसो देखि नै प्रसाद सामाग्रीहरू सहित उपस्थित भएका छन् ।
पानी पनि नखाने कठोर व्रत हुने भएका गर्मीमा विना पानी उपवास गर्नमा निक्कै कठिनाइ हुने गरेको भए पनि दृढ इच्छाशक्ति तथा माता छठीका कारणले पुरा गर्नमा कुनै समस्या नभएको जनकपुरधाम वडा नं ८ का व्रती माया देवीले बताउनुभयो । चैते छठमा प्रसादको रुपमा छठी मैयाँलाई ठेकुवा, भूषसा, खाजा, केला, अदुवा, बेसार, नरिवल, उखु, केराउ, स्याउ, सुन्तला सहितका सामाग्रीहरू चढाउने चलन रहेको छ ।
छठी मैयाँलाई प्रसाद अर्पण गर्नका लागि तयार गर्दै निक्कै चोखो भएर गर्नुपर्दछ । शुद्धतासहित चोखो तरिकाले तयार पारेको प्रसादहरूलाई पथीया, ढाकी, सर्वा, सुपली, डगरी, टपरीमा सजाएर छैटीमा राखी घाटमा लाने चलन रहेको छ ।
चैते छठ सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई दोस्रो पटक अर्घ दिएपछि पर्वको समापन गरिन्छ । सोही दिन व्रतीले ३६ घण्टाको कठोर व्रतपछि पराना अर्थात् नुन सहितको खाना खाने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *