वर्षमा एक दिन प्रत्येक बैशाख १ मा मात्रै फुल्ने सल्हेशकाे फूलबारी पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका-१२ भोटियाटोल चौकदेखि करिब डेढ किलोमिटर दक्षिणमा पर्छ । १० विघा क्षेत्रफलमा फैलिएको याे बगैचामा अनेकौं थरिका बोट विरुवा पाइन्छन ।
तीमध्ये हारमको दुई वटा रुख पनि छ। फूलबारीमा रहेको हारम प्रजातिको बोटमा हरेक वर्ष वैशाख १ मा फूल्ने यो फूल हेर्न र फोटोरभिडिओ खिच्न फूलबारीमा बिहानैदेखि ठूलो भीड छ । दुसाध र दनुवार जातिका इष्ट देवता हुन सलहेश । उनकै नामबाट फूलवारीको नाम ‘सलहेश फुलबारी’ रहन गएको स्थानीय बताउँछन् ।

फूलबारीको मध्यभागमा रहेको हाराम प्रजातिको बोटको हाँगामा विगत जस्तै यस वर्ष पनि माला आकारको सेतो फूल फूलेको छ । अचम्म के छ भने साँझपख फूल ओइलाएर जान्छ । उक्त बोटमा सातौं(आठौं शताब्दीदेखि नै फूल फूल्दै आएको बुढापाका बताउँछन् । यहाँ भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास छ ।
फूलबारीमा हारामको बोटनजिकै सहलेस महाराजा तथा मालिनीको मन्दिर (गहबर) छ । यही मन्दिरमा आएर भाकल गर्दा मनोकामना पूरा हुने गरेको विश्वास छ । उक्त फूललाई साक्षी राखेर विवाहसमेत गरिन्छ । पुजारीका अनुसार मन्दिर पछाडि इनार र बाली गंगा नदी बग्ने गरेको र इनार कहिलेकाँही मात्र देखिने गर्छ ।
यो फूलबारीको कथा चौधौं शताब्दीका लोकनायक राजा सल्हेश र उनका प्रेमीका मालिनीहरुको (रेशमा, कुशमा र दौना) गाथासँग जोडिएको जनविश्वास छ। तत्कालीन समयमा सिरहा सदरमुकामलाई महिसोथा गढ राज्य भनिन्थ्यो। त्यहीको राज्यको राजा थिए, सल्हेश। उनी आफ्नो राज्यबाट आएर मानिक दहमा स्नान गर्ने, फूलबारीमा फूल लिने, सिल्हट अखाडामा कुस्ती खेल्ने फेरी सल्हेश गढमा गएर कूलदेवी देवतालाई पूजा गर्ने कथन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *