मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिवार मन्त्री परिषद विस्तार गर्नु भएको छ ।
सत्ता समिकरण फेरिए पछि सरकारमा आएको नेकपा एमालेको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री यादवले मन्त्री परिषद विस्तार गर्नु भएको छ ।

नवनियुक्त मन्त्रीहरुमा राजकुमार लेखी गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाल शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नु भएको छ भने केशव राय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ ।
नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बाट पद तथा गोपनियताको सपथ लिनु भएको छ भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गर्नु भएको हो ।

केन्द्रमा एमालेसहितको नयाँ गठबन्धनको सरकार बनेपछि प्रदेशमा पनि कांग्रेसको तर्फबाट मन्त्री रहेका तीनजना मन्त्रीलाई सोमबार मुख्यमन्त्री यादवले बर्खास्त गरी एमालेलाई सरकारमा सहभागी गराएका थिए।
सोमबार एमाले संसदीय दलका नेता समेत रहेका सरोजकुमार यादवलाई मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए।
नयाँ गठबन्धन बनेपछि प्रदेशमा कांग्रेसले लिएको तीन मन्त्रालय एमालेलाई दिने सत्तारुढ गठबन्धन दलबिच सहमति भएको थियो। तर एमालेले मन्त्रीका नाम नदिएपछि मंगलबार मुख्यमन्त्री यादवले ती थप दुई मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री सरोजलाई नै दिइएको थियो।
पाँच दिनपछि एमालेले मन्त्रीको नाम टुङ्गो लगाएपछि मुख्यमन्त्री यादवले एमालेको तर्फबाट तीनमन्त्री र एक राज्यमन्त्री नियुक्त गरेको हो।
नयाँ गठबन्धन अनुसार प्रदेशमा जसपा नेतृत्वको सरकारमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी सहभागी छन्। त्यस्तै संघ सरकारमा सहभागी नरहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश सरकारमा सहभागी भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *