
नेकपा एमालेका सचिव समेत रहेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान पाँच दलीय गठबन्धनले संसद्को बाँकी अवधिसम्म निर्वाध रुपमा चल्ने बताएका छन् ।
देश विकासलाई प्राथमिकतामा राखेर नै गठबन्धन भएको उनले बताए । दोस्रो पटक उपप्रधानमन्त्री बनेका महासेठ पहिलो पटक बिहीवार गृहनगर जनकपुरधाममा आइपुग्दा उनलाई विमानस्थलमा कार्यकर्ताहरुले स्वागत गरेका थिए । उपप्रधानमन्त्री महासेठले विमानस्थलमा सञ्चारकर्मीहरुसितको संक्षिप्त संवादमा भने–‘प्रतिपक्षमा रहेका दलहरूसहितको सहकार्यमा वर्तमान गठबन्धन सरकारले देश विकासका लागि प्रतिबद्ध भएर काम गर्ने छ ।’ नेकपा एमालेले चार वर्ष तीन महिनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्न पाएको उनले बताए ।‘
आफ्नो गृह जिल्ला धनुषामा अधुरा रहेका सडक, पुल पुलेसा र अन्य विकास निर्माणका काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
