जनकपुरमा स्कुल बसको ठक्करबाट घाइते थप एकजनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या २ पुगेको छ ।
आइतबार बिहान १० बजेतिर जनकपुरधाम उपमहानगरपालिका-२३ विन्धीमा प्र २–०२–००१ क ०४३१ नम्बरको एञ्जल्स स्कुलको बसले बिहेको मटकोर विधिको लागि माटो ल्याउन जाँदै गरेका महिलाहरुको समूहलाई ठक्कर दिएको थियो । ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका ३ की ३५ वर्षीया राखदी देवी यादवको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै जनकपुरधाम उपमहानगरपालिका २३ की ५८ वर्षीया देवकली साहको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
घटनामा अन्य ६ जना घाइते छन् । जसमध्ये ५० वर्षीय अम्बिका देवी झाको अवस्था गम्भीर छ र उनलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ ।
यस्तै घाइतेहरुमा ७० वर्षीया पशुपति देवी यादव, भुवनेश्वर देवी यादव, ४ वर्षीय सोनुकुमार साह, २४ वर्षीया ममता देवी यादव र ४० वर्षीया दलसिया देवी साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी अवाले बताए ।
उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
घटनापछि विहानैदेखि विन्धीको अवस्था तनावग्रस्त छ । ठक्कर दिने बसमा आगजानी र एकजनाको घरमा लुकेका चालकलाई आक्रोशित स्थानीयले आक्रमण गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा ढुंगामुढाबाट ७ जना प्रहरी सामान्य घाइते भएको डीएसपी अवाले बताए ।

