जनकपुरधाम। मुख्यमन्त्री सरोज कुमार यादवले मधेशको समृद्धिका लागी शिक्षा र स्वास्थ्य क्षेत्रलाई मधेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ ।
नेपाल चिकित्सक संघ जनकपुरशाखाको तत्वाधानमा नेपाल चिकित्सक दिवसको अवसर पारेर आज बाट जनकपुरमा शुरु भएको मधेश स्वास्थ्य शिखर सम्मेलन २०२४को समुदघाटन सत्रमा मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागी प्रदेश सरकार प्राथमिकताका साथ काम गरि रहेको बताउनु भयो ।
शिक्षा र स्वास्थ्यलाई राजनीतिबाट टाढा राख्नु पर्ने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री यादवले यसका लागि सरकार र समुदायलाई हातेमालो गरेर अघि बढनुपर्ने विचार व्यक्त गर्नु भयो । स्वास्थ्य क्षेत्रको सुधार भौतिक प्रगतिले मात्र सम्भव नरहेको उल्लेख गर्नु हुँदै उहाँले भन्नु भयो ,‘ प्रदेश सरकार स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार व्यवस्थापनको क्षेत्रमा तीब्र गतिमा अघि बढेको छ । अव चिकित्सकहरुले आफनो धर्म निर्वाह गर्नु पर्दछ । हामी मेसिन ल्याई दिन्छौ , चलाई दिने जिम्मा यहाँहरुको हो । ’
चिकित्सकहरुकै मांग अनुसार मधेश सरकारले हालै भर्ना गर्न लागेको करारका चिकित्सकहरुको लागि ४५ वर्ष उमेर निर्धारण गरेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री यादवले छिट्टै कानून संशोधन गरेर लोक सेवामा समेत सोही उमेर निर्धारण गरिने प्रतिबद्धता समेत जनाउनु भयो । चिकित्सकहरुको पारिश्रमिक सम्बन्धि गुनासोलाई सम्बोधन गर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुलाई थप ४० प्रतिशत भत्ता दिन थालिएको जानकारी समेत गराउनु भयो ।
मधेश सरकारले स्वास्थ्य क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री यादवले प्रदेश मातहतका प्रादेशिक अस्पतालहरुलाई १०० बेडमा स्तरोन्नति गर्नुका साथै थप ५ वटा अस्पताललाई ५० बेडको बनाउने कार्य भै रहेको बताउनु भयो ।
चिकित्सक संघ जनकपुर शाखाका अध्यक्ष डा. रामजी यादवको अध्यक्षतामा भएको उक्त उदघाटन सत्रमा विशिष्ट अतिथि एवं मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले सरकारको लगानीले मात्र स्वास्थ्य क्षेत्रको सुधार सम्भव नरहेको उल्लेख गर्नु हुँदै चिकित्सकहरुलाई इमान्दर हुनु पर्ने बताउनु भयो । उहाँले शिखर सम्मेलनले निकाल्ने निष्कर्ष प्रदेश सरकारका लागि मार्ग दर्शन हुने र त्यसलाई आफुहरु सहर्ष ग्रहण गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
उद्घाटन सत्रमा प्रा डा. जय नाथ साह, डा. निरज सिंह, डा. अनिल बिक्रम काकी सहितले मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *