
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।
दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरूले गठन गरेको लोसपाबाट उनले अलग भएको घोषणा गरेका हुन् ।
लोसपाका अध्यक्ष ठाकुरले पार्टीलाई क्रियाशील बनाउन नसकेको र पार्टीलाई मनोमानी ढंगले सञ्चालन गरेको भन्दै महतो असन्तुष्ट थिए ।
महतोले गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीबाट आफ्नो राजनीति सुरु गरेका थिए । त्यसपछि आफ्नै नेतृत्वमा सद्भावना पार्टी गठन गरेका उनले केही समयपछि विभिन्न मधेसवादी दलसँग मिलेर राष्ट्रिय जनता पार्टी गठन गरेका थिए । उक्त पार्टीमा पनि ठाकुर र महतोबीच निरन्तर शक्ति संघर्ष भइरहेको थियो ।
