
जनकपुरधाम/फागुन ९ गते ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले “भिजिट जनकपुरधाम २०२४” अभियानमा उपमहानगरपालिकाले सहकार्य गरेर नगरको सरसफाई तथा पर्यटकीय स्थलको सौन्दर्यीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
जनकपुरधामको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “भिजिट जनकपुरधाम २०२४” अभियान सञ्चालन गरिएको छ l

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अभियान चलाइएको कार्यक्रमका संयोजक अम्बुप्रसाद साहले जानकारी दिनुभयो ।
न्यु भिजन नेपाल लगायत निजी क्षेत्र उद्योगी व्यवसाय, जनकपुरधाम उद्योग बाणिज्य संघ,पर्यटन व्यवसाय लगायत स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकार,नेपाल पर्यटन बोर्डको सहकार्यमा संचालित “भिजिट जनकपुरधाम २०२४” अभियान अन्तर्गत विभिन्न प्रकारका विचार गोष्ठी, विभिन्न ठाउँको भ्रमण, बाहिरबाट आएका पर्यटकहरूलाई जनकपुरधाममा स्वागत गर्ने, पर्यटकहरूसँग सुमधुर व्यवहार गर्ने, नयाँ नयाँ ठाउँको विकास तथा सौन्दर्यीकरण गर्ने लगायतका कार्यक्रम रहेको साहले जानकारी दिनुभयो ।
