मधेश प्रदेश सरकारले प्रदेश सभामा विश्वासको मत लिने भएको छ । सरकारमा सहभागी रहेको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि सरकारले विश्वासको मत लिने तयारी गरेको छ ।
जनमत पार्टीको मधेश प्रदेशमा १३ जना सभासद छन् । प्रदेश सरकार गठन भएदेखि नै सरकारमा रहेको जनमत पार्टीले गत मंगलबार सरकारबाट बाहिरिएर समर्थन पनि फिर्ता लिएको छ ।

जनता समाजवादी पार्टी(जसपा) संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा रहेको सरकारलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)र स्वतन्त्र सभासदहरुले समर्थन गरेका छन् । मधेश कृषि विश्वविद्यालयको सप्तरीमा भवन शिलान्यासको क्रममा जसपा र जनमत पार्टीबीच विवाद भएको थियो ।

मधेश प्रदेश सरकारको स्वामित्वमा रहेको विश्वविद्यालयको कुलपति रहेका मुख्यमन्त्री सरोज कुमार यादवले भवनको शिलान्यासको प्रमुख अतिथि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बनाएको विरोधमा उत्रेको जनमत पार्टी अन्ततःसरकारबाट नै बाहिरियो । जनमत पार्टीबाट मधेश प्रदेश सरकारमा शिक्षा तथा संस्कृति मन्त्री रहेका महेश प्रसाद यादव विश्वविद्यालयको सहकुलपति रहेका थिए । जनमत पार्टीका अध्यक्ष डा.सी के राउतले भवन शिलान्यास गर्ने अडान लिएपछि विवाद चर्किएको थियो ।

जनमत पार्टीले शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा सिफारिस गरेको रञ्जु कुमारी मण्डल खंग खत्बेलाई मुख्यमन्त्रीले सपथग्रहण गराएनन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहालाई केही महिना बिना विभागीय बनाएर राजीनामा गर्न बाध्य बनाइएको थियो । संघीय सरकारमा रहे पनि जनमत पार्टीलाई पाँच दलीय संघीय गठबन्धनमा राखिएको छैन् ।

पाँच दलीय संघीय गठबन्धनमा मधेशबाट जसपा मात्र रहेको छ । जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको पत्र मंगलबार प्रदेश प्रमुखलाई बुझाउँदै मन्त्रीद्वय शिक्षा तथा संस्कृति महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मुख्यमन्त्री यादवलाई राजीनामा पत्र बुझाएका थिए । जनमत सरकारबाट बाहिरिएपछि शिक्षा तथा संस्कृति मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय बाडफाँटमा नेपाली कांग्रेस, माओवादी केन्द्र र लोसपाले दाबी गर्न थालेका छन् ।

सरकारमा कांग्रेसबाट हाल ३ जना मन्त्री छन् । माओवादीबाट एकजना मात्र मन्त्री छन् । लोसपाबाट पनि एकजना मात्र सरकारमा रहेका छन् । जसपाको मुख्यमन्त्रीका अतिरिक्त ३ जना मन्त्री छन् । कांग्रेसले थप एउटा मन्त्रालयमा दाबी गर्दै आएको छ । माओवादीले पनि थप मन्त्रालयका लागि प्रयासरत रहेको बेला लोसपाले पनि दबाब बढाएको छ ।

मधेश प्रदेशमा कांग्रेसको २२ जना सभासद, जसपाको १९ जना सभासद, माओवादीको ९ जना सभासद, लोसपाको ९ जना सभासद र एकीकृत समाजवादीको ७ जना सभासद रहेका छन् । एमालेको २४ जना सभासद, जनमतको १३ जना सभासद, राप्रपाको १ जना सभासद, नागरिक उन्मुक्ति पार्टीको १ जना सभासद, संघीय समाजवादीको १ जना सभासद र स्वतन्त्र १ जना सभासद रहेका छन् ।

मुख्यमन्त्री यादवलाई ५४ जना सभासदको समर्थन चाहिन्छ । कांग्रेस, जसपा, माओवादी, एस र लोसपाको गरी ६६ जना सभासदको समर्थन रहेको छ । सरकारसित पर्याप्त बहुमत रहे पनि कानुनी प्रावधान अनुसार कुनै दलले समर्थन फिर्ता लिए पनि प्रदेश सभामा बहुमत साबित गर्नु आवश्यक रहेको छ ।

मुख्यमन्त्री यादवलाई ५४ जना सभासदको समर्थन चाहिन्छ । कांग्रेस, जसपा, माओवादी, एस र लोसपाको गरी ६६ जना सभासदको समर्थन रहेको छ । कुनै दलले समर्थन फिर्ता लिएको ३० दिन भित्र सरकारले प्रदेश सभामा विश्वासको मत अनिवार्य रुपमा लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *