Janaki Khabar

जानकी खबर ।२९ जेठ ,जनकपुरधाम ।

प्रदेश २ सरकारले कोरोनाबाट जोगाउन सबै प्रदेशबासीलाई खोपको व्यवस्था मिलाउने घोषणा गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७८-८९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । बिहिवारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो।

अगामी वर्षको कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

जनकपुरस्थित प्रादेशिक अस्पताललाई ५० शैय्या सहितको अत्याधुनिक अस्पतालमा स्तरोन्नती गर्ने घोषणा गरेको छ । प्रदेशको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया र सप्तरीको रुपनीमा ट्रमा अस्पताल सञ्चालन गर्ने पनि घोषणा पनि गरिएको छ ।

नीति तथा कार्यक्रममा उच्च शिक्षा अध्ययनरत आदिवासी जनजाति, दलित, मुस्लिम, छात्रा तथा मधेश आन्दोलनका शहीद परिवार, घाइते परिवारका लागि छात्रवृत्तिको व्यवस्था गरिने भनिएको छ ।

रोजगारविहीन दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा विपन्न वर्गका नागरिकलाई राहत प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिंदै कोरोनाबाट रोजगारी गुमाएका श्रमिक वर्ग, विपन्न तथा शहीद परिवारका आश्रितका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रदेश सरकारले शिक्षा र कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ ।