जानकी खबर ।
२४ कात्तिक, जनकपुरधाम ।
प्राकृतिको पुजा गरिने पवित्र पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ ।
बुधबार साँझ अस्ताउँदो सूर्यलाई र भोलि बिहान उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ ।

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्व
मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।
यसमा झुप्पा-झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । छठ पर्वमा व्रत गरेर सूर्यको पूजा गरे सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

यस अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु लगायत प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि शुभकामना व्यक्त गरेका छन् ।
आज छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक विदा पनि दिएको छ ।


कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको , उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको थियो ।

